नेपालगञ्ज, असोज १८ गते।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा बाँकेले आफ्ना सदस्य तथा कोहलपुर नगरपालिका–११ स्थित थापा मेडिकलका सञ्चालक गणेशबहादुर थापामाथि भएको भनिएको हातपात, कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा औषधि उपचारसम्बन्धी विषयलाई लिएर असोज १७ गते थापामाथि हातपात, कुटपिट, गालीगलौज तथा अमर्यादित व्यवहार गरिएको र उक्त घटनालाई सामाजिक सञ्जालमार्फत प्रसारण गरी व्यवसायिक एवं व्यक्तिगत चरित्रहत्या गर्ने प्रयास भएको उल्लेख गरेको छ।
संघले औषधि व्यवसायीहरू स्वास्थ्य सेवा प्रवाहसँगै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गराउँदै केही व्यक्ति वा समूहले औषधि पसलमा प्रवेश गरी गैरकानुनी रूपमा दुर्व्यवहार गर्ने कार्यले व्यवसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको जनाएको छ।
विज्ञप्तिमा कुनै व्यवसायीबाट गल्ती भएको भए निष्पक्ष छानबिन गरी कानुनी प्रक्रियाअनुसार कारबाही गर्न आफूहरू सहमत रहेको उल्लेख गर्दै बिना आधार र प्रमाण कसैको व्यक्तिगत तथा व्यावसायिक चरित्रहत्या गर्ने कार्य स्वीकार्य नहुने बताइएको छ।
संघले घटनाको निष्पक्ष छानबिन गर्न, औषधि व्यवसायीमाथि हातपात तथा दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा औषधि व्यवसायीहरूको व्यक्तिगत र पेशागत सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ।
संघका कार्यवाहक अध्यक्ष पवनकुमार बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा औषधि व्यवसायीको सम्मान र सुरक्षामा कुनै सम्झौता नगर्ने उल्लेख गरिएको छ।




