बाँके १८ असाेज । नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा चोरी भएको छ। नेपाल सरकारले दिएको दुईदिने सार्वजनिक बिदाका कारण विद्यालय बन्द रहेको मौका छोपेर अज्ञात व्यक्तिले विद्यालयमा प्रवेश गरी विभिन्न विद्युतीय तथा शैक्षिक सामग्री चोरी गरेको विद्यालयले जनाएको छ।
विद्यालयबाट कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा अन्य मेसिनरी सामग्रीसँगै सीसीटीभी क्यामेरा समेत चोरी भएको बताइएको छ। चोरीका कारण विद्यालयका महत्वपूर्ण शैक्षिक तथा विद्युतीय सामग्रीमा क्षति पुगेको छ।
विद्यालयका प्रधानाध्यापक आमीरका प्रसाद यादवका अनुसार विद्यालय बन्द रहेको मौका छोपी चोरी भएको हो। घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको र चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजी गरी आवश्यक अनुसन्धान गर्न विद्यालयले आग्रह गरेको छ।
विद्यालयको सुरक्षाका लागि जडान गरिएका सीसीटीभी क्यामेरा नै चोरी भएपछि घटनाको अनुसन्धानमा चुनौती थपिएको विद्यालयको भनाइ छ। चोरीमा संलग्न व्यक्तिको खोजी तथा घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ।
विद्यालयमा अध्ययन–अध्यापनका लागि प्रयोग हुँदै आएका महत्वपूर्ण सामग्री चोरी भएपछि विद्यालयको नियमित शैक्षिक गतिविधिमा समेत असर पर्न सक्ने देखिएको छ। विद्यालयले चोरी भएका सामग्रीको खोजी तथा दोषीमाथि कानुनी कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।




