नेपालगञ्ज, असोज १८ गते।
नेपालगञ्ज उपमहानगरपालिका–१८ मा सञ्चालित चौतारी दोहोरी साँझ एण्ड भान्सा घर नेपाली लोकसंस्कृति, सांगीतिक मनोरञ्जन र स्वादिष्ट परिकारका कारण नेपालगञ्जको पुरानो तथा स्थापित दोहोरी प्रतिष्ठानका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
लामो समयदेखि सञ्चालनमा रहेको चौतारी दोहोरी साँझ पछिल्लो समय च्याउ उम्रेझैँ नयाँ–नयाँ दोहोरी तथा मनोरञ्जनका स्थलहरू सञ्चालनमा आए पनि आफ्नो मौलिकता, गुणस्तरीय सेवा र पारिवारिक वातावरणका कारण ग्राहकको रोजाइमा पर्दै आएको छ।
दोहोरीका सञ्चालक अरुण चन्द ठकुरीका अनुसार चौतारीमा गीत–संगीत र मनोरञ्जनसँगै विभिन्न स्वादका नेपाली परिकारको समेत व्यवस्था गरिएको छ। स्थानीय मौलिक खानादेखि ग्राहकको रुचिअनुसारका विभिन्न परिकार उपलब्ध हुने भएकाले यहाँ मनोरञ्जनसँगै खानाको स्वाद लिन आउनेको संख्या पनि बढ्दै गएको उनको भनाइ छ।
चौतारी दोहोरीको प्रमुख विशेषतामध्ये देशका विभिन्न भूभागका लोकभाका र सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिनु पनि हो। यहाँ मेचीदेखि महाकालीसम्मका विभिन्न जातजाति तथा समुदायका लोकगीत, लोकदोहोरी, नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत हुँदै आएका छन्। यस्ता प्रस्तुतिले नेपाली कला र संस्कृतिको संरक्षणसँगै दर्शक तथा श्रोताहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्दै आएको छ।

नेपालगञ्ज भारतसँगको सीमावर्ती सहर भएकाले चौतारी दोहोरीमा भारतबाट आउने पाहुनाहरूको समेत आकर्षण बढ्दै गएको सञ्चालक ठकुरी बताउँछन्। भारतबाट नेपालगञ्ज घुम्न तथा व्यापारिक कामका लागि आउने पाहुनाहरूलाई चौतारीमा आत्मीय रूपमा स्वागत गरिने र नेपाली लोकसंगीत, नृत्य तथा मौलिक परिकारको अनुभव गराउने वातावरण रहेको उनको भनाइ छ।
नेपाली लोकसंस्कृति, कला, संगीत र खानाको प्रवर्द्धनलाई समेत जोड दिँदै आएको चौतारी दोहोरी साँझ एण्ड भान्सा घर पछिल्लो समय नेपालगञ्ज आउने आन्तरिक तथा भारतीय पाहुनाका लागि समेत मनोरञ्जन र स्वादको आकर्षक गन्तव्य बन्दै गएको छ।
नयाँ–नयाँ दोहोरीहरू थपिँदै गए पनि आफ्नो पुरानो पहिचान र मौलिकतालाई निरन्तरता दिँदै चौतारीले नेपालगञ्जको दोहोरी संस्कृतिमा आफ्नो स्थान कायम राखेको छ।







