नेपालगञ्ज, असोज २० गते।
जिल्ला प्रहरी कार्यालय बाँकेले विद्युतीय माध्यमबाट व्यक्तिको गोपनीयता कायम नगरी सूचना तथा सामग्री प्रकाशन–प्रसारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी व्यक्तिको चरित्र तथा सामाजिक प्रतिष्ठामा असर पुग्ने गरी मञ्जुरीबिना तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा कोहलपुर नगरपालिका–११ निवासी ३६ वर्षीय हिमान्शु शाहलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार शाह ‘SAHARA TV HD’ का सञ्चालकसमेत रहेका छन्। उनीविरुद्ध विद्युतीय अपराध तथा वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले विद्युतीय माध्यम तथा सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिको गोपनीयता र कानुनी व्यवस्थाको सम्मान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




