सुरक्षाका लागि सहायता कक्ष; प्रशासन र सुरक्षा निकाय हाईअलर्ट

बाँके २० असोज । बडादसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट नेपाल फर्किने नेपाली नागरिकलाई सीमा नाकामा हुन सक्ने ठगी, लुटपाट तथा अन्य सास्तीबाट जोगाउन बाँकेमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ।
चाडपर्वको मौका छोपेर सीमा नाकामा यात्रु लुटिने, अलपत्र पर्ने, बिचौलियाबाट दुःख पाउने तथा सार्वजनिक यातायातमा बढी भाडा असुलिनेजस्ता समस्या हुन नदिन जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको संयुक्त समन्वयमा सीमा क्षेत्रमै एकीकृत सहायता सेवा सञ्चालन गरिएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सम्भावित सुरक्षा जोखिम पहिचान गरी विशेष सुरक्षा योजना लागू गरिएको बताएका छन्। भारतबाट फर्किने नेपालीले बाटोमा लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर सीमा नाकामै सूचना, प्राथमिक उपचार, समन्वय तथा तत्काल उद्धार र कारबाहीका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
सीमा क्षेत्रको पहिलो सुरक्षा घेरा सम्हाल्दै आएको सशस्त्र प्रहरी बल नेपाल, नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले यात्रुको सुरक्षाका लागि सीमा नाकामा विशेष जनशक्ति परिचालन गरिएको जानकारी दिए।
“चाडपर्वको समयमा नाका भएर भित्रिने नागरिक हाम्रा गौरव हुन्। उनीहरूलाई नेपाली भूमिमा पाइला टेक्नासाथ सुरक्षित वातावरण महसुस गराउनु हाम्रो पहिलो दायित्व हो,” एसपी चन्दले भने।
उनका अनुसार सीमा पारिबाट आउने नेपालीका सामान चोरी हुने तथा बिचौलियाबाट यात्रुले दुःख पाउने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। भारतीय सुरक्षा बल (एसएसबी)सँग समेत समन्वय गरी सीमा क्षेत्रमा चौबीसै घण्टा निगरानी बढाइएको उनले बताए।
यात्रुलाई कुनै समस्या परे तत्काल उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउन प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जमुनाहा नाकासँगै यात्रुको चाप हुने नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा समेत सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए।
सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सार्वजनिक यातायातको भाडादर अनुगमन गर्ने, यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने तथा यातायात व्यवस्थापनमा सहजीकरण गर्नेछ।
सुरक्षा निकायले यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नलिन, आफ्नो सामान तथा कागजातको सुरक्षा गर्न र शङ्कास्पद व्यक्ति वा बिचौलियाको गतिविधि देखिए तत्काल नजिकैको सहायता कक्षमा जानकारी गराउन यात्रुलाई आग्रह गरेको छ।
समस्या परे नेपाल प्रहरीको निःशुल्क नम्बर १०० तथा सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्नसमेत सुरक्षा निकायले आग्रह गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img