नेपालगञ्ज २५ असाेज । नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै हिन्दू धर्मावलम्बीहरूको घरघरमा दसैँको धार्मिक अनुष्ठान तथा पूजाआजा सुरु भएको छ।
घटस्थापनाका दिन घर तथा पूजाकोठामा विधिपूर्वक कलश स्थापना गरी जौको जमरा राख्ने परम्परा छ। दुर्गा भवानीको पूजा–आराधना गर्दै नौ दिनसम्म मनाइने नवरात्रको पहिलो दिनका रूपमा घटस्थापनालाई विशेष महत्त्वका साथ लिइन्छ।
नवरात्रभरि भक्तजनहरूले माता दुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्ने गर्छन्। दसैँको आगमनसँगै बजारमा चहलपहल बढ्ने, घरआँगन सफा गर्ने, नयाँ लुगा तथा पूजासामग्री किनमेल गर्ने र टाढाटाढा रहेका आफन्त घर फर्किने क्रम पनि बढ्ने गर्छ।
दसैँले पारिवारिक भेटघाट, आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकतालाई बलियो बनाउने विश्वास गरिन्छ। घटस्थापनाबाट सुरु भएको दसैँको उत्सव नवमीसम्म दुर्गा भवानीको विशेष पूजाआराधनासहित अघि बढ्छ भने दशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ।
यस पर्वले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने धार्मिक तथा सांस्कृतिक मान्यता छ।




