नेपालगञ्ज, साउन १७ — लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीले आइतबार बाँकेको खजुरा गाउँपालिका–५ मा नवनिर्मित योगा भवनको उद्घाटन गर्नुभएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खत्रीले योग र स्वास्थ्यप्रति नागरिकको बढ्दो आकर्षणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले स्वस्थ समाज निर्माणका लागि यस्ता पूर्वाधार तथा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।
यसैगरी मन्त्री खत्री खजुरा गाउँपालिका–४ स्थित अरुणोदय स्कुलद्वारा आयोजित रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पनि सहभागी हुनुभएको थियो। कार्यक्रममा उहाँले स्वयं रक्तदान गर्दै रक्तदान जीवनदान भएकाले सबैलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो।
दुवै कार्यक्रममा सहभागी हुने क्रममा मन्त्री खत्रीले स्थानीय बासिन्दासँग भेटघाट तथा विभिन्न समसामयिक विषयमा छलफल गर्नुभएको थियो। उहाँले स्थानीय आवश्यकताका विषयमा सुझाव तथा गुनासो सुन्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो।
स्थानीयवासीले क्षेत्रका विभिन्न समस्या तथा विकासका आवश्यकताबारे मन्त्री खत्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।





